
काठमाडौँ । चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिए नेपाली कांग्रेसका सभापति गगन थापाले पद छाडे पनि पार्टी सुधार र पुनर्जागरणमा सक्रिय हुने बताएका छन्। बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाएको राजीनामा पत्रमा उनले हारका प्राविधिक र राजनीतिक कारणहरू स्पष्ट पारेका छन्।
थापाले राजीनामाको मुख्य कारणका रूपमा विशेष महाधिवेशन र निर्वाचनबीचको छोटो समयलाई औँल्याएका छन्। गत पुस ३० गते विशेष महाधिवेशनबाट सभापति बनेको एक सातामै उम्मेदवारी दर्ता र त्यसको लगत्तै निर्वाचनमा होमिनुपरेकाले ‘बदलिएको कांग्रेस’ को सन्देश आम मतदातासम्म पुर्याउन नपाएको उनको तर्क छ।
‘पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म पुग्न पर्याप्त समय प्राप्त हुन सकेन,’ थापाले राजीनामा पत्रमा लेखेका छन्। निर्वाचनको परिणाम प्रतिकूल आउनुमा समयको यो सीमा नै प्रमुख कारक रहेको उनको बुझाइ छ।
यद्यपि, उनले परिस्थितिलाई मात्र दोष नदिई नेतृत्वको हिसाबले नैतिक जिम्मेवारी आफैँले लिने बताएका छन्। आफूले कति समय जिम्मेवारी सम्हालेँ भन्ने विषय गौण रहेको भन्दै उनले वर्तमान परिणामको जवाफदेहिता नेतृत्वको नाताले आफ्नै हुने स्पष्ट पारेका छन्।
निर्वाचन लगत्तै राजीनामा दिन चाहे पनि समानुपातिक तर्फको उम्मेदवार सिफारिस लगायतका सांगठनिक जिम्मेवारी बाँकी रहेकाले केही दिन ढिलो गरी पद त्याग गरेको उनले बताएका छन्। थापाले पद छाडे पनि पार्टी सुधार र पुनर्जागरणको यात्रामा थप ऊर्जाका साथ सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
























