कांग्रेस बैठकमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने तयारी

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ०७:३७

काठमाडौं । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी रणनीतिमाथि गम्भीर बहस सुरु गराएको छ ।

यही सन्दर्भमा केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । त्यसलाई पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले चुनावी परिणामको विस्तृत समीक्षा गर्ने र पार्टीको आगामी राजनीतिक मार्गचित्र तय गर्ने जिम्मेवारी पनि बोकेको छ । चुनावी परिणाम अपेक्षाभन्दा कमजोर आएपछि नेतृत्वमाथि प्रश्न उठिरहेको अवस्थामा बैठकले संगठनभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने चुनौतीसमेत सामना गर्नुपर्ने देखिएको छ ।

पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएपछि बैठकको एजेन्डा थप संवेदनशील बनेको छ । उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामापत्र बुझाएपछि कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ ।

थापाको यो कदमलाई केही नेताहरूले नैतिक जिम्मेवारीको रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई राजनीतिक दबाब व्यवस्थापनको रणनीतिका रूपमा पनि हेरेका छन् । तर, पार्टीभित्रको बहुसंख्यक धारणा भने सभापति थापाको राजीनामा स्वीकार नगर्ने पक्षमा देखिएको छ ।

उपसभापति शर्माले सार्वजनिक रूपमा नै थापाको राजीनामा अस्वीकृत हुने संकेत गरिसकेका छन् । बैठकबाट थापाको राजीनामा अस्वीकृत गराउने तयारी छ । पार्टीका प्रभावशाली नेताहरूले अहिले नेतृत्व परिवर्तनभन्दा पनि संगठनलाई एकताबद्ध बनाउँदै आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने आवश्यकता औंल्याइरहेका छन् ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अहिलेको अवस्थामा नेतृत्व परिवर्तनले झन् अस्थिरता बढाउने भएकाले थापालाई नै नेतृत्वमा राखेर सुधारात्मक कदम चाल्नुपर्ने धारणा बलियो बन्दै गएको छ । ‘चुनावी समीक्षा आवश्यक छ । तर, त्यसका लागि नेतृत्व फेर्नु समाधान होइन,’ उनले भने ।

बैठकमा चुनावी पराजयका कारण, संगठनात्मक कमजोरीसहित यसअघिको गठबन्धन राजनीति र सरकार सञ्चालनमा देखिएका समस्याका बारेमा गम्भीर छलफल हुने बताइएको छ । साथै, आगामी दिनमा पार्टीलाई कसरी पुनः सशक्त बनाउने भन्ने विषयमा स्पष्ट रणनीति तयार गर्ने प्रयास पनि हुनेछ ।

राजीनामा प्रकरणसँगै कांग्रेसभित्र देखिएको अन्तरद्वन्द्वलाई व्यवस्थापन गर्ने चुनौती पनि नेतृत्वसमक्ष छ । केही नेताहरूले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् भने अर्को पक्षले अहिलेको परिस्थितिमा आन्तरिक विवाद बढाउनु उचित नहुने तर्क गरिरहेका छन् ।

यसै सन्दर्भमा शुक्रबारको बैठकबाट सभापति थापाको राजीनामा औपचारिक रूपमा अस्वीकृत गर्ने तयारी भइरहेको छ । यद्यपि, अन्तिम निर्णय भने बैठककै छलफलपछि हुनेछ । यदि राजीनामा अस्वीकृत गरियो भने थापाले सुधारको प्रतिबद्धतासहित पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्नुपर्ने दबाब अझ बढ्नेछ ।

केन्द्रीय कार्यसमिति बैठकलाई कांग्रेसको तत्कालीन नेतृत्व, संगठनात्मक संरचना र भविष्यको राजनीतिक दिशा तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ । पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्वप्रति उठेका प्रश्नको सम्बोधनले नै कांग्रेसको आगामी राजनीतिक यात्रा निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.