
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिदेखि सुरु भएको छ । निर्वाचनपछिको बदलिएको राजनीतिक परिस्थिति र पार्टीभित्रको आन्तरिक विवादका बीच बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।
पार्टी पदाधिकारीका अनुसार आजको बैठकका लागि मुख्य दुई एजेन्डाहरू तय गरिएका छन् । बैठकमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गरिनेछ भने सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनामाबारे विस्तृत छलफल हुनेछ । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा बुझाएका थिए, तर आजको बैठकमा थापा स्वयं भने उपस्थित छैनन् ।
पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार यो बैठक आज वा भोलिसम्ममा सकिनेछ । बैठकले सभापति थापाको राजीनामाका सम्बन्धमा आवश्यक निर्णय लिने उनले जानकारी दिए । ‘बैठकले सभापतिको राजीनामाबारे निर्णय लिनेछ र अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्नेछ,’ घिमिरेले भने।
उपसभापति शर्माले सभापति थापाको राजीनामा बैठकमा प्रस्तुत गर्ने र उक्त राजीनामा अस्वीकृत गरिनुपर्ने प्रस्ताव समेत अघि सार्ने तयारी गरेका छन् । निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम र नेतृत्वको जिम्मेवारीका विषयमा केन्द्रीय सदस्यहरूबीच घनीभूत छलफल हुने देखिएको छ ।
























