
विराटनगर । विराटनगरमा समकालीन नेपाली साहित्यको समालोचना विधालाई समृद्ध बनाउने उद्देश्यका साथ तयार पारिएको कृति ‘अक्षरको यात्री’ सार्वजनिक गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार विराटनगरस्थित एलिट क्लबमा आयोजित समारोहबीच साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादित उक्त समालोचना संग्रह लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहाल लगायतका साहित्यिक अग्रजहरूले संयुक्त रूपमा कृतिको विमोचन गरे ।
१६ जना साहित्यकारका कृतिमाथि आधारित समालोचनात्मक लेख समेटिएको ‘अक्षरको यात्री’ ले नेपाली साहित्यका विविध धार र प्रवृत्तिको समीक्षात्मक विश्लेषण प्रस्तुत गरेको छ । संग्रहमा वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि पछिल्लो पुस्तासम्मका सिर्जनाहरूको आलोचनात्मक अध्ययन समावेश गरिएको छ, जसले पुस्तान्तरबीचको साहित्यिक सेतु निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले नेपाली साहित्यमा समालोचना विधाको प्रभाव विस्तार हुँदै गएको उल्लेख गरे । ‘सिर्जनाको मूल्याङ्कन र विश्लेषणले साहित्यलाई परिष्कृत मात्र बनाउँदैन, यसले नयाँ सिर्जनाका लागि मार्गदर्शन पनि गर्छ,’ उनले भने । उनका अनुसार स्वस्थ समालोचना बिना साहित्यको दिगो विकास सम्भव छैन । वक्ताहरूले ‘अक्षरको यात्री’ ले समालोचनालाई केवल आलोचना नभई बौद्धिक विमर्शको माध्यमका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सम्पादक निर्मला कोइरालाले कृतिले नेपाली साहित्यका विविध आयामलाई तथ्यपरक र सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको बताइन् । ‘समालोचना केवल समीक्षा होइन, यो पाठक र सर्जकबीचको संवाद हो,’ उनले भनिन्, ‘यस्तो संवादले साहित्यलाई अझ जीवन्त र उत्तरदायी बनाउँछ ।’
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राज्ञ खेम नेपाली, गंगा सुवेदी लगायतको उपस्थिति रहेको थियो । साहित्यिक गतिविधिमा विराटनगरको बढ्दो सक्रियताले पूर्वाञ्चल क्षेत्रलाई समालोचनात्मक लेखनको केन्द्रका रूपमा स्थापित गर्ने सङ्केत दिएको छ ।



















