
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।
आइतबार दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति देशको हिमाली भूभागमा साधारणता बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























