कांग्रेसको समानान्तर बैठकले थप्यो अन्योल

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १३:३७

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको छ। आइतबार धुम्बाराहीमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसम्पादन समितिका नेताहरूको बैठकले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेपछि पार्टीमा दुईवटा शक्ति केन्द्र स्पष्ट देखिएका छन्।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासहितका नेताहरू सहभागी उक्त बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आफ्नै समूहको बैठक आह्वान गर्ने सहमति गरेको हो।

नेता मीन विश्वकर्माका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेर निर्वाचनको परिणाम र आगामी कार्यनीतिबारे छलफल गरिनेछ। यसअघि पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भए पनि देउवा र कोइराला पक्षले त्यसलाई स्वीकार गरेका छैनन्।

उनीहरूले नयाँ समितिको वैधानिकतालाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट अहिले पनि विचाराधीन अवस्थामा छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएर सोही अनुसार निर्वाचन सम्पन्न भइसकेको छ।

निर्वाचनमा व्यहोरेको पराजयबारे थापा नेतृत्वको आधिकारिक कार्यसमितिले शुक्रबारदेखि समीक्षा बैठक जारी राखेकै समयमा असन्तुष्ट समूहले अर्को बैठक डाक्ने निर्णय गरेको हो। यसले कांग्रेसभित्रको सत्ता संघर्ष र कानुनी जटिलतालाई अझै सतहमा ल्याइदिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.