
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार बालुवाटारमा भएको भेटवार्ताले समसामयिक नेपाली राजनीतिमा समर्थन, सुझाव र सतर्कताको सन्देश दिएको छ ।
लामिछानेले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्दै हालै सम्पन्न निर्वाचन, सरकारका कामकारबाही र देशका ज्वलन्त मुद्दामाथि खुलेर धारणा राखेका छन् । भेटको सुरुवातमै लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ‘ऐतिहासिक’ भन्दै प्रशंसा गरे ।
उनले छोटो समय, सीमित स्रोत र जटिल राजनीतिक परिस्थितिका बीच पनि निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे । ‘यो सामान्य कुरा होइन’ भन्दै उनले प्रधानमन्त्री, मन्त्रिपरिषद् र प्रशासनिक संयन्त्रको खुलेर सराहना गरे ।
‘निर्वाचनले मुलुकलाई राजनीतिक अन्योलबाट लोकतान्त्रिक निकास दिएको छ,’ लामिछानेले भने, ‘यो उपलब्धि दीर्घकालीन रूपमा स्मरणीय रहनेछ ।’ लामिछानेको भनाइमा प्रधानमन्त्री कार्कीको दृढता र स्पष्ट निर्णय क्षमताले नै मुलुकलाई सहज अवतरण गराएको हो । उनले भविष्यमा पनि प्रधानमन्त्रीको अनुभव र मार्गदर्शन आवश्यक रहने उल्लेख गर्दै सहकार्यको संकेत दिएका छन् ।
यता प्रधानमन्त्री कार्कीले भने लामिछानेलाई बधाई दिँदै अबको मुख्य चुनौती परिणाम देखाउनु भएको स्पष्ट सन्देश दिइन् । उनले विशेष गरी युवामुखी राजनीतिक शक्तिका रूपमा रास्वपामाथि जनताले ठूलो आशा राखेको बताइन् । ‘देश अहिले आशामा छ । निराश हुने ठाउँ दिनु हुँदैन,’ उनले भनिन्, ‘इमानका साथ काम गरे परिणाम अवश्य आउँछ । आलोचनालाई कामबाटै जवाफ दिनुपर्छ ।’
प्रधानमन्त्रीको सन्देशमा उत्साह मात्र नभएर सतर्कता पनि देखिएको थियो । उनले राजनीतिक अनुभव, संयमता र जिम्मेवारीबोधलाई प्राथमिकता दिन आग्रह गर्दै चुनौतीपूर्ण अवस्थालाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सुझाव दिइन् ।
भेटवार्ताको अर्को महत्वपूर्ण पक्ष भनेको लामिछानेको सरकारप्रतिको स्पष्ट समर्थन थियो । उनले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो र पार्टीको कुनै आपत्ति नरहेको बताएका छन् । ‘सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म काम गर्न पाउनुपर्छ’ भन्दै उनले सरकारका कदमलाई सम्मान गर्ने धारणा व्यक्त गरे ।
उनले विशेषगरी संक्रमणकालीन अवस्थाबाट देशलाई निकास दिने जिम्मेवारी पूरा गरेको भन्दै वर्तमान सरकारप्रति उच्च सम्मान रहेको उल्लेख गरे । हालै सरकारले गरेको केही नियुक्ति र निर्णयहरू विवादमा परिरहेका बेला लामिछानेको यस्तो अभिव्यक्ति अर्थपूर्ण मानिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठको नियुक्ति र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णयले राजनीतिक वृत्तमा बहस जन्माएको थियो । तर, लामिछानेले विरोध नगरिकन समर्थन जनाएका छन् ।
लामिछानेले केही महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । पोर्चुगलमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या, मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाली श्रमिकहरूको सुरक्षा र देशभित्र पेट्रोलियम पदार्थको आपूर्तिमा देखिन सक्ने जोखिमबारे उनले चिन्ता व्यक्त गरेका छन् । यी विषयहरूमा समयमै प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
























