
काठमाडौं । नेपाली काँग्रेसले मंगलबार (भोलि) केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबारको बैठकमा हालै सम्पन्न निर्वाचनको परिणामबारे विस्तृत समीक्षा गरिने मुख्य कार्यसूची रहेको छ ।
सोमबार सम्पन्न बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । सोमबारको बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा समेत गरिएको थियो ।
मंगलबारको बैठकमा विशेष आकर्षणको रूपमा सभापति गगनकुमार थापा स्वयं उपस्थित हुनेछन् । निर्वाचनपछिका यसअघिका बैठकहरूमा उनी अनुपस्थित थिए । शुक्रबार र आइतबार भएका बैठकहरू उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सञ्चालन भएका थिए ।
भोलिको बैठकमा निर्वाचन परिणामको गहिरो विश्लेषण गर्दै पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्ने नेताहरूले बताएका छन् । निर्वाचनमा पार्टीको प्रदर्शन र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने अपेक्षा गरिएको छ ।
























