
विराटनगर । वामपन्थी राजनीतिमा नयाँ बहस र सम्भावनाको संकेत गर्दै झापाबाट विभिन्न कम्युनिस्ट धारमा आबद्ध नेताहरूले संयुक्त रूपमा वामपन्थी पुनर्गठन अभियान सुरु गरेका छन् ।
लामो समयदेखि विभाजित र कमजोर बन्दै गएको वाम आन्दोलनलाई पुनः संगठित एवं प्रभावशाली बनाउने उद्देश्यसहित सुरु गरिएको यस अभियानले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ । झापाको बिर्तामोडमा आयोजित समीक्षा बैठकपछि सार्वजनिक गरिएको संयुक्त अपिलमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) लगायत विभिन्न वामपन्थी दल तथा समूहमा आबद्ध नेताहरूको हस्ताक्षर छ ।
बैठकले वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गरेको छ । नेताहरुले पछिल्लो निर्वाचन परिणामले वाम शक्तिप्रति जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै यसको मूल कारण संगठनभित्र बढ्दो व्यक्तिवाद, गुटबन्दी र आन्तरिक लोकतन्त्रको ह्रास रहेको उल्लेख गरेका छन् ।
अपिलमा लामो समयसम्म सत्ता र संगठनको नेतृत्व सम्हाल्दा पनि जनताका आधारभूत मुद्दाहरू सम्बोधन गर्न असफल हुनु वाम आन्दोलनको विश्वसनीयतामा गम्भीर धक्का पुग्नुको प्रमुख कारण भएको उल्लेख गरिएको छ । जनतासँगको सम्बन्ध कमजोर हुँदै जानु, अवसरवादको विस्तार हुनु र विचारभन्दा व्यक्तिको प्रभुत्व बढ्दै जानुले वामपन्थी राजनीतिको मूल मर्म नै संकटमा परेको नेताहरुको ठहर छ ।
यही सन्दर्भमा अबको राजनीतिक कार्यदिशा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नेताहरूले पुरानो कार्यशैली त्याग्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदै संगठनलाई समयसापेक्ष, जनमुखी र उत्तरदायी बनाउने प्रतिवद्धता जनाएका छन् । अपिलमा नेतृत्व तहमा आमूल परिवर्तन नगरेसम्म वाम आन्दोलनले पुनर्जीवन पाउन नसक्ने स्पष्ट पारिएको छ ।
यस अभियानको अर्को महत्वपूर्ण पक्ष वाम शक्तिहरूबीच एकता अपरिहार्य रहेको निष्कर्ष हो । विभिन्न पार्टी र समूहमा छरिएर रहेका वामपन्थी शक्तिहरूलाई साझा विचार, कार्यक्रम र लक्ष्यका आधारमा एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै अपिलमा सुदृढीकरण अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । राष्ट्रिय हित, लोकतान्त्रिक मूल्यमान्यता र समाजवादको लक्ष्य प्राप्तिका लागि विगतका कमजोरीबाट पाठ सिकेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
बिर्तामोड बैठकपछि जारी उक्त अपिलमा १० जना नेताहरूले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेहरूमा स्वतन्त्र वामपन्थी नेता नरेश खरेल, एमालेका रविन कोइराला, गणेश पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीका झलकसिंह दर्लामी, रञ्जित तामाङ, ज्योतिसिंह दर्लामी, पुष्प पोख्रेल, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा)का लक्ष्मीदेवी न्यौपाने, नेकपा संयुक्तका नीलमणि बराल र नेकपा (माओवादी)का अर्जुन पाण्डे रहेका छन् ।
रञ्जित तामाङ फागुन २१ गते सम्पन्न निर्वाचनमा झापा–५ बाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार थिए । झलकसिंह दर्लामी सोही पार्टीका झापा जिल्ला इन्चार्ज हुन् ।
यो अभियानले तत्काल राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने वा नपार्ने भन्ने स्पष्ट नभए पनि झापाबाट सुरु भएको यस पहलले देशभरका वामपन्थी वृत्तमा नयाँ बहस भने सुरु गराएको छ । विशेषगरी नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई केन्द्रमा राखिएको यस अभियानले पुराना संरचनामा परिवर्तन ल्याउन दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

























