
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितका तर्फबाट रवि लामिछानेसहित ५१ जनाविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् ।
धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले १२ करोड ५६ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन बुझाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो ।
सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका नेता रहेका जैसी आन्दोलनदेखि अदालतसम्म सक्रिय थिए । पक्राउ परेका उनी धनुष बचत सहकारीको प्रमुख योजनाकारको रुपमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
सो सहकारीमा साविक साइनो र धनुष मर्ज भएर नयाँ व्यवस्थापन समिति बनेको थियो । प्रतिवेदनअनुसार साविक साइनो सहकारीका अध्यक्ष गमरेजसिंह गुरुङ, उनकी पत्नी काशीमाया गुरुङ, छोरी सिर्जना गुरुङ र एभिएस इन्जिनियरिङ कन्सल्टेन्सीका अध्यक्ष असिम बरालको योजनामा ३ करोड रुपैयाँ हिनामिना भएको थियो ।
धनुष सहकारीतर्फ व्यवस्थापक विराज सुवेदीले २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी जैसीले ऋण उपसमितिको पदाधिकारी भएर कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको बताइएको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा रवि लामिछानेसहित ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । यसै मुद्दामा रवि ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा भएका थिए ।
जैसीको पक्राउले पोखरामा सहकारी ठगी र पीडितका संघर्षको कथा फेरि प्रमुख समाचार बनेको छ । प्रहरीले अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

























