
विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा बुढीगंगास्थित टंकीसिनवारीमा प्रभातफेरी र सचेतना र्याली निकालिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सामुदायिक चिकित्सा विभागको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङसँगको सहकार्यमा मंगलबार र्याली निकालिएको हो ।

‘हो । हामी क्षयरोग अन्त्य गर्छौँ । राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा निकालिएको प्रभातफेरीमार्फत क्षयरोग नियन्त्रण र सचेतना अभिवृद्धिमा जोड दिइएको थियो ।

हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । र्यालीमा विद्यार्थी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत क्षयरोग समयमै पहिचान, उपचार र रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

मोरङमा क्षयरोग संक्रमण र यसका कारण मृत्यु हुने दरमा वृद्धि भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८० / ०८१ मा १ हजार २७७ जना, २०८१ / ०८२ मा १ हजार ३४० जना र चालु आर्थिक वर्ष २०८२ / ०८३ को फागुन मसान्तसम्म ८३० जना क्षयरोगका संक्रमित फेला परेका छन् । त्यस्तै, मृत्यु हुनेको संख्या पनि बढ्दो अवस्थामा रहेको छ ।

क्षयरोगका कारण २०८० / ०८१ मा ३० जना, २०८१ / ०८२ मा ४० जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्ममा ३५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।


























