
विराटनगर । सुनसरीको धरानबाट बिहीबार बिहान गाँजासहित दुई जना पक्राउ परेका छन् ।
प्रदेश १–०२–०५४ प ०९४४ नम्बरको मोटरसाइकलमा सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय शिखर राई र विश्व राई पक्राउ परेका छन् । बोरा राखेर ल्याउँदै गरेको मोटरसाइकललाई प्रहरीले बिहान ८ बजेतिर धरान उपमहानगरपालिका–२० विष्णुपादुकाबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएर खानतलासी गर्दा बोराभित्र १७ किलो गाँजा फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गाँजा बरामद भएपछि मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

























