
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार संसदीय दलको नेता चयन गरेको छ । पार्टीभित्रको सहमतिपछि वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता बनाइएको हो ।
३६ वर्षीय बालेन अब देशको ४३ औं प्रधानमन्त्री बन्ने भएका छन् । बालेन प्रधानमन्त्री बन्ने अवस्था बनेसँगै नेपाली राजनीतिमा नयाँ शक्ति र नयाँ अनुहारको उदय हुनेछ । उनी मधेशी समुदायबाट पनि प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनेछन् ।
उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जननिर्वाचित सरकार अपदस्थ भएसँगै सुशीला कार्की ४२ औं प्रधानमन्त्री बनिन् ।
कार्की नेतृत्वकै सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको थियो । मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा लडेका बालेन उक्त निर्वाचनमा झापाको क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन् । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए ।
बालेनलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका हुन् । रास्वपामा बालेनलाई संसदीय दलको नेता चयन गर्ने सहमति जुटेपछि सत्ता समीकरण स्पष्ट भएको छ । दलभित्र कुनै विवाद वा प्रतिस्पर्धा नगरी सर्वसम्मत निर्णय गरिनुले पार्टीभित्र बलियो एकता देखिएको विश्लेषण गरिएको छ ।
यही निर्णयले बालेनलाई प्रधानमन्त्री बन्ने संवैधानिक बाटो खुला गरिदिएको छ । प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत सुनिश्चित भएपछि अब सरकार गठनका लागि कुनै जटिल राजनीतिक प्रक्रिया आवश्यक नपर्ने देखिएको छ ।
सामान्यतः बहुमत नपुग्दा राष्ट्रपतिले आह्वान गर्ने प्रक्रिया अपनाइन्छ । तर, यसपटक रास्वपाले नै निर्णायक बहुमत पुर्याएकाले सो प्रक्रिया आवश्यक नपर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
अबको मुख्य प्रक्रिया भनेको संसदीय दलको नेताको औपचारिक जानकारी राष्ट्रपति कार्यालयमा पठाउनु हो । उक्त पत्र प्राप्त हुनासाथ नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार बालेनलाई प्रधानमन्त्री नियुक्त गरिने छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार दलको औपचारिक पत्र आएपछि नियुक्ति प्रक्रिया तत्काल अघि बढ्नेछ । ‘पत्र आएपछि नियुक्ति तुरुन्तै हुन्छ,’ उनले भने ।
यससँगै प्रधानमन्त्रीको शपथग्रहणको तयारी पनि लगभग पूरा भइसकेको छ । शीतल निवासस्थित राष्ट्रपति भवनमा शुक्रबार दिउँसो १२ बजेपछि शपथग्रहण कार्यक्रम राख्ने तयारी गरिएको छ । राष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न दलका शीर्ष नेता, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलनअनुसार तयारी अघि बढाइएको छ ।
बालेनको उदयले परम्परागत राजनीतिमा नयाँ बहस सुरु गराएको छ । काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा उनले देखाएको कार्यशैली, भ्रष्टाचारविरुद्धको कडा अडान र प्रशासनिक सुधारका प्रयासहरूले उनलाई जनतामाझ फरक पहिचान दिएको थियो । त्यही छविले अब राष्ट्रिय नेतृत्वको जिम्मेवारीसम्म पुर्याएको विश्लेषकहरू बताउँछन् ।
तर, प्रधानमन्त्रीको जिम्मेवारी भने स्थानीय तहभन्दा धेरै जटिल र चुनौतीपूर्ण हुनेछ । राष्ट्रिय अर्थतन्त्र, संघीय संरचना, अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा नीति लगायतका विषयमा सन्तुलित निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले बालेनले अब आफ्नो प्रशासनिक शैलीलाई राष्ट्रिय स्तरमा कसरी रूपान्तरण गर्छन् भन्ने चासो बढेको छ ।
यता रास्वपाभित्र पनि मन्त्री चयन, सरकारको नीति तथा कार्यक्रम तय गर्ने काम तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । नयाँ सरकारको प्राथमिकता के हुन्छ, आर्थिक सुधार कसरी अघि बढाइन्छ, सुशासनका प्रतिबद्धता कसरी कार्यान्वयन गरिन्छ भन्ने प्रश्नहरू यतिबेला सबैभन्दा बढी चासोका विषय बनेका छन् ।
विशेष गरेर रास्वपाको आन्तरिक सहमतिले नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ । अब प्रधानमन्त्रीका रुपमा बालेन्द्रको उदयसँगै परम्परागत राजनीतिक संरचनामा परिवर्तन आउने छ ।
























