
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले अध्यक्ष ओलीको गिरफ्तारी वर्तमान सरकारको ‘राज्य आतंक’ र ‘प्रतिशोधको पराकाष्ठा’ भएकाे दाबी गर्दै आन्दोलन घोषणाको तयारी भएको जानकारी दिए ।
अध्यक्ष ओलीको गिरफ्तारीपछि एमालेले अब तीनवटा मोर्चाबाट सरकारको सामना गर्ने रणनीति बनाएको छ । नेता बस्नेतका अनुसार पार्टीले सडक, सदन र अदालतबाट कानुनी र राजनीतिक लडाइँ एकसाथ अगाडि बढाउने छ ।
‘हामी कानुनी लडाइँ पनि लड्छौँ, सदनमा पनि सशक्त आवाज उठाउँछौँ र सडक संघर्षमा पनि उत्रिन्छौँ,’ बस्नेतले भने,‘हिजो पनि यस्ता दमनका विरुद्ध लडेका हौँ र आज पनि डटेर सामना गर्न तयार छौँ ।’
कोशी प्रदेशमा आन्दोलनको ठोस कार्यक्रम तय गर्न एमालेले आज बिहान १० बजे मोरङमा आकस्मिक बैठक बोलाएको छ । बैठकमा केन्द्र, प्रदेश, जिल्लातहका नेताहरूको उपस्थिति हुन भनिएको छ ।
सरकारको प्रतिशोधपूर्ण कदमको भण्डाफोर गर्ने र अध्यक्ष ओलीको सम्मानजनक रिहाइको माग गर्ने नेता बस्नेतले बताए । १० बजेको बैठकपछि एमालेले औपचारिक रूपमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ ।
























