ओली–लेखक पक्राउले राजनीति तरंगित : एमाले सडकमा, देशभर प्रदर्शन

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १८:३५

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक शनिबार बिहान निवासबाटै पक्राउ परेपछि देशव्यापी राजनीतिक तनाव चर्किएको छ ।

बिहान सबेरै गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि भर्ना गरिएको छ । जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन सरकारको निर्णयपछि ओली र लेखक पक्राउ परेका हुन् ।

पक्राउपछि राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लामा एमालेका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । एमाले पूर्ण हिसाबले आन्दोलित बनेको छ । पार्टीले यस घटनालाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी गिरफ्तारी’ भन्दै कडा आपत्ति जनाएको छ ।

बालेन शाह (बालेन्द्र) नेतृत्वमा गठन भएको सरकारको निर्देशनमा ओली र लेखक पक्राउ परेका हुन् । एमालेले यसलाई लोकतान्त्रिक मूल्य र कानुनी राज्यमाथिको प्रहारका रूपमा व्याख्या गरेको छ ।

काठमाडौंको माइतीघर मण्डला, बबरमहल, चाबहिल लगायत क्षेत्रमा एमाले कार्यकर्ताहरू ठूलो संख्यामा भेला भई प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीसँग झडपसमेत भएको छ । प्रदर्शनकारीहरूले ‘केपी ओलीलाई तुरुन्त रिहा गर’, ‘बालेन सरकार मुर्दावाद’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

सुरक्षा व्यवस्था कडा पारिए पनि काठमाडौंका मुख्य सडक क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ । त्यस्तै, देशका विभिन्न जिल्लामा पनि विरोध प्रदर्शन भएका छन् । सुर्खेत, जुम्ला, कालिकोट, दैलेख, झापा, मोरङ, संखुवासभा, मकवानपुर, बाजुरा लगायतका जिल्लामा एमालेका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । धेरै स्थानमा पार्टी कार्यालयअगाडि भेला भएर विरोधसभा गरिएको थियो । कतिपय ठाउँमा प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ गर्ने तयारी गरिएको छ ।

एमालेको आकस्मिक सचिवालय बैठकले यस घटनालाई संगठित राजनीतिक आक्रमणको रूपमा व्याख्या गर्दै तत्काल अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गरेका थिए । बैठकमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

बैठकपछि महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी पूर्ण रूपमा पूर्वाग्रही र गैरकानुनी भएको दाबी गरिएको छ । उनले राज्य संयन्त्रको दुरुपयोग गरी विपक्षी राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए ।

एमालेले देशभरका सबै जिल्लामा जनसंगठनहरूलाई सडकमा उतार्ने कार्यक्रम तय गरेकोछ । शनिबार दिउँसो विरोध प्रदर्शन गरेको एमालेले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाउने र आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । साथै, संसद्, सडक र कानुनी सबै मोर्चाबाट संघर्ष गर्ने रणनीति एमालेको छ ।

पार्टीका उपमहासचिव योगेश भट्टराईले यो घटनालाई संसद्मा समेत उठाउने बताएका छन् । उनका अनुसार ओली र लेखकको गिरफ्तारी संविधानविपरीत भएको निष्कर्षमा एमाले पुगेको छ । त्यसविरुद्ध कानुनी उपचार खोज्ने तयारी भइरहेको छ । उनले राजनीतिक दलहरूसँग संवाद गरेर अवस्थालाई समाधान गर्ने प्रयास पनि भइरहेको जानकारी दिएका छन् ।

यसैबीच, एमालेले राजनीतिक संवादका लागि जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । उपाध्यक्ष विष्णु पौडेललाई अन्य राजनीतिक दलहरूसँग संवाद संयोजनको जिम्मेवारी दिइएको छ भने संसदीय दलसँग समन्वयको जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । कानुनी प्रतिवादको नेतृत्व भने उपाध्यक्ष गोकर्ण विष्टलाई सुम्पिएको छ ।

सरकारी पक्षबाट भने घटनाका बारेमा औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक भएको छैन । तर, जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गर्न गठित आयोगले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ । सोही प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको सरकारको दाबी छ ।

तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन नै प्रतिशोधपूर्ण हिसाबले तयार पारेको भनेर चौतर्फी विरोध भइरहेको छ । पक्राउ गरेर स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई त्यहाँ नै भर्ना गरिएको छ।

देशभर फैलिएको प्रदर्शनका कारण राजनीतिक वातावरण अत्यन्तै तनावपूर्ण बनेको छ । सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ भने काठमाडौंका संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय स्थानमा यातायात प्रभावित भएको छ । जनजीवनमा समेत असर परेको देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले मुलुकको सत्ता राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने सम्भावना बढाएको छ । एमाले सडक, संसद् र अदालतबाट नै संघर्ष गर्ने तयारीमा देखिँदा सरकारसँगको दूरी अझ बढ्ने संकेत देखिएको छ ।

एमालेले आगामी दिनमा आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएको छ । पार्टी नेतृत्वले सबै जनसंगठन, युवा संगठन र भ्रातृ संस्थालाई सक्रिय हुन निर्देशन दिँदै देशव्यापी रूपमा विरोध कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । यससँगै मुलुकमा राजनीतिक संकट गहिरिँदै जाने सम्भावना बढेको छ । लेखक र ओलीको पक्राउले राजनीति तरंगित बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.