खड्काको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति: क्रियाशील सदस्यता नै जोखिममा

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १०:४३

काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’ का रूपमा जारी गरेको विज्ञप्तिलाई पार्टीले गम्भीर रूपमा लिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीको विरोधमा खड्काले निकालेको विज्ञप्ति पार्टीको संस्थागत निर्णयविपरीत भएको कांग्रेसको ठहर छ।

शनिबार खड्काले विज्ञप्ति जारी गरेपछि साँझ बसेको पार्टी पदाधिकारीहरूको बैठकले यसलाई ‘अनुशासनबाहिरको विषय’ भनेको छ। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार खड्काले कार्यवाहक सभापतिका रूपमा समानान्तर गतिविधि जारी राखेमा उनको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे समेत छलफल भएको छ।

विशेष महाधिवेशनपछि बनेको नयाँ विधिअनुसार नेतादेखि कार्यकर्तासम्म सबैले आफ्नो क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्नुपर्ने प्रावधान छ। ‘सभापतिले काठमाडौँ वडा नम्बर ३० बाट सदस्यता अद्यावधिक गरेझैँ पूर्णबहादुर दाइले पनि सुर्खेतको आफ्नै वडाबाट प्रक्रिया पूरा गर्नुपर्छ,’ ती नेताले भने, ‘यदि उहाँले कार्यवाहककै रूपमा गतिविधि गरिरहनुभयो भने तल्लो तहबाट आएको सदस्यता विवरण केन्द्रले खारेज गरिदिन सक्छ।’

आगामी असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले यसपटक सदस्यता अद्यावधिकका लागि नयाँ र कडा विधि बनाउने जनाएको छ। खड्काले आफ्नो विज्ञप्तिमा ओली र लेखकको पक्राउको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने उल्लेख गर्दै कार्यकर्तालाई जुनसुकै परिस्थितिका लागि तयार रहन अपिल गरेका थिए।

अर्कोतर्फ, पार्टीका आधिकारिक प्रवक्ता देवराज चालिसेले भने सरकार ‘सेलेक्टिभ’ भएको धारणा सार्वजनिक गरेका छन्। एउटै घटना र एउटै प्रतिवेदनमा नाम मुछिएका सुरक्षा संयन्त्रका व्यक्तिको हकमा अध्ययन समिति गठन गर्ने तर राजनीतिक नेतृत्वलाई भने हतारमा पक्राउ गर्ने सरकारको दोहोरो मापदण्डप्रति कांग्रेसले प्रश्न उठाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.