
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथिको अनुसन्धान निष्पक्ष, स्वतन्त्र र राजनीतिक आग्रह–पूर्वाग्रह रहित हुनुपर्ने बताएका छन् ।
आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय नयाँ नभएको र यो आफूहरूले पहिले नै संसदमै उठाइसकेको दाबी गरे । उनका अनुसार सार्वजनिक पदमा रहेकाहरू सबैको सम्पत्ति छानबिन हुनुपर्ने कुरा पहिलेदेखि नै उठाउँदै आएको माग हो ।
प्रचण्डले भने, ‘कहिँकतै राजनीतिक आग्रह–पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले अनुसन्धान होस् भन्ने कुरा हामीले भनिसकेका छौं । यो विषय मैले पहिल्यै संसदमा पनि सबैको छानबिन हुनुपर्छ भनेर उठाएको हुँ ।”
उनले सरकारद्वारा अघि सारिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाबारे आफूले विस्तृत रूपमा अध्ययन गर्न नपाएको पनि बताए । दस्तावेज अध्ययन गरेपछि मात्र आधिकारिक प्रतिक्रिया दिने उनले स्पष्ट पारे ।
























