
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा १३ वर्षीया नाबालिकामाथि भएको निर्घात कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
गत चैत १२ गते बराहक्षेत्र नगरपालिका–२ स्थित पुनर्वास क्षेत्रको बाइसबिघे जंगलमा नाबालिकामाथि कुटपिट गरिएको भिडियो बाहिरिएको थियो । भिडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा बराहक्षेत्र–२ नहरचौकका २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र एक १७ वर्षीय नाबालकलाई क्रमशः चैत १३, १४ र १५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।
उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट आइतबार पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलन भइरहेको र अन्य संलग्न व्यक्तिको खोजीसमेत जारी रहेको प्रहरीको भनाइ छ ।

























