प्रधानमन्त्री बालेन सक्रिय : पूर्वप्रधानमन्त्रीहरूविरुद्ध छानबिन तयारी

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ०७:४२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को ठाडो निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लोकतान्त्रिक आन्दोलनपछि सरकारको नेतृत्व गरेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा छानबिन अघि बढाउने तयारी तीव्र पारेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गर्न लागिएको हो । साथै, उपेन्द्र यादव र शरदसिंह भण्डारी लगायतका पूर्वमन्त्री तथा प्रभावशाली नेताहरू पनि अनुसन्धानको दायरामा परेका छन् ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीको निरन्तर दबाबपछि सीआईबीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो पक्राउ पुर्जी जारी गर्ने तयारी गर्न निर्देशन दिइएको छ । सोहीअनुसार सीआईबीले अदालतबाट अनुमति लिन कागजी प्रक्रिया अघि बढाइसकेको बताइएको छ । प्रारम्भिक चरणमै करिब २३ जनाविरुद्ध पक्राउ अनुमति माग्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

यसैबीच, सुरुवाती कदमस्वरूप कांग्रेस नेता तथा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । उक्त कदमलाई ठूलो अनुसन्धान अभियानको सुरुवातका रूपमा हेरिएको छ ।

प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षकसहित उच्च अधिकारीहरूलाई निर्देशन दिँदै छानबिनलाई तीव्रता दिन दबाब दिँदै आएका छन् । सोही दबाबका कारण प्रहरीभित्र केही असहज अवस्था सिर्जना भए पनि आदेश कार्यान्वयन गर्न बाध्य भएको स्रोतको भनाइ छ ।

यदि सबै पूर्वप्रधानमन्त्रीहरूमाथि एकसाथ अनुसन्धान अघि बढेमा राजनीतिक वृत्तमा ठूलो हलचल आउने देखिएको छ । दलहरूमा यसको प्रभाव गहिरो पर्ने आकलन गरिएको छ । प्रहरीले कानुनी प्रक्रिया अनुसार निष्पक्ष अनुसन्धान अघि बढाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.