
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले किटानी जाहेरीका आधारमा मुद्दा अदालतमा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयका अनुसार अध्यक्ष चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार (जबरजस्ती करणी) सम्बन्धी अभियोग दर्ता गरिएको छ ।
यसअघि २०८१ असोज ६ गते पीडितले किटानी जाहेरी दिएकी थिइन् । त्यसका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । अभियुक्तमध्ये सन्तकुमार यादव कारागार चलान भइसकेका छन् । अन्य दुईजनामाथि पनि कानुनी प्रक्रिया अघि बढेको छ ।
गाउँपालिका अध्यक्षमाथि गम्भीर आपराधिक आरोपमा मुद्दा दर्ता भएपछि उनको पद संकटमा परेको छ । अध्यक्ष चौधरीले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् । उनले कानुनी लडाइँ लड्ने बताएका छन् ।

























