
विराटनगर । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबाट आफूलाई मार्ने र घर जलाउने धम्की आएको विषय उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । साम्पाङले आफूलाई धम्की दिने रास्वपाका कार्यकर्ताविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिने तयारी गरिरहेको बताए ।
सत्तारुढ दलका कार्यकर्ताबाट धम्की आएपछि उजुरी दिन जान लागेको उनको भनाइ छ । सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै साम्पाङले आफूले प्रतिपक्षको भूमिका निभाइरहेको सन्दर्भमा यस्तो धम्की आएको उल्लेख गरेका छन् । उनले आफ्नो फेसबुक पोस्टमा रास्वपाका समर्थकबाट ज्यान लिने र घरमा आगजनी गर्ने चेतावनी आएको दाबी गर्दै यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन् ।
‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की दिएको छ । यही हो त रास्वपाको समर्थकको चरित्र ?’ उनले भनेका छन्, ‘आजै सीआईबीमा उजुरी लगाउँदैछौं । हेरौँ, सीआईबीले काम गर्छ कि गर्दैन ।’ सरकारको एकपक्षीय दादागिरी रहे देश अराजकताले निल्ने चेतावनी साम्पाङले दिएका छन् ।
साम्पाङले सरकारप्रति पनि कडा टिप्पणी गर्दै राज्य संयन्त्र निष्पक्ष रूपमा नचलाए देश अराजकतामा फस्न सक्ने चेतावनी दिएका छन् । उनले सरकारको एकपक्षीय व्यवहार र दादागिरीले राजनीतिक वातावरण थप अस्थिर बन्ने संकेत गरेका छन् ।
सीआईबीमा उजुरी दिने तयारीसँगै यो विषय औपचारिक अनुसन्धानको दायरामा जाने सम्भावना बढेको छ । यद्यपि, धम्की दिने व्यक्ति भनेर एक जना महिलाको फोटो पोस्ट गरेका साम्पाङले तिनको नाम भने खुलाएका छैनन् । उनलाई धम्की दिनेको पहिचान र घटनाको यथार्थताका बारेमा अहिल्यै आधिकारिक सार्वजनिक भइसकेको छैन ।
तर, राजनीतिक वृत्तमा यस घटनाले नयाँ बहस सुरु गरेको छ । सांसद तथ एउटा दलको नेतामाथि आएको भनिएको यस्तो धम्कीप्रति सर्वत्र चासो बढेको छ ।


























