
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य (प्रदेश सांसद) रेखा शर्माविरुद्ध बालिकामाथि श्रमशोषणको आरोपमा अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद दिएको छ ।
काठमाडौं जिल्ला अदालतले म्याद थप गरेर ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । न्यायाधीश नवराज दुलालको इजलासले शर्मालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुला गरिदिएको छ ।
नेकपा (एमाले)की सांसद शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले धुम्बाराहीबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई सरकारी वकिलको कार्यालयमार्फत सोमबार जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको थियो ।
२०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले एक बालिकालाई उनको घरबाट उद्धार गरेको घटनासँग सम्बन्धित आरोप उनीमाथि छ । घरेलु कामदारका रूपमा राखी श्रमशोषण र हिंसा गरिएको आरोपपछि महानगरले ती बालिकालाई उद्धार गरेको थियो ।
त्यसबेला तत्कालीन महानगर प्रमुख बालेन शाह (बालेन्द्र)ले समेत घटनाबारे सार्वजनिक रूपमा प्रश्न उठाएका थिए । उक्त घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । तर, लामो समयसम्म शर्मा पक्राउ परेकी थिइनन् ।
यसअघि महान्यायाधिवक्ता कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यही कारण पक्राउ नपरेकी हुन् । अहिले पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।

























