
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले देशव्यापी प्रदर्शनको घोषणा गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि आन्दोलन घोषणा गरेको हो । पार्टी विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटीले बृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।
यस्तो छ एमालेको आन्दोलनको कार्यक्रम
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
६. सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो । साथै, बुधबार ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने ।
























