
काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद र समानान्तर शक्ति संघर्षले पार्टी नेतृत्वलाई थप दबाबमा पारेको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय अनुशासन समितिको बैठक आज (बुधबार बस्दै छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । पछिल्ला दिनहरूमा पूर्वसभापति शेरबहादुर देउवा पक्ष तथा शेखर कोइराला समूहले अलगअलग गतिविधि अघि बढाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।
विशेषगरी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्नु पार्टी नेतृत्वका लागि विवादको विषय बनेको छ । यस घटनालाई पार्टीले गम्भीर रूपमा लिँदै आएको छ ।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरिसकेको अवस्थामा खड्काको कदमलाई अनुशासनविपरीत गतिविधिको रूपमा हेरिएको छ । यसै सन्दर्भमा उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषय समेत छलफलमा परेको बताइएको छ ।
त्यसैगरी, खड्काले मंगलबार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउनु र शेखर कोइराला तथा शशांक कोइराला सँगै सार्वजनिक कार्यक्रम गर्नुले विवादलाई झन् चर्काएको छ । उनले चैत १९ गतेलाई जिल्ला सभापतिहरूको भेला पनि आह्वान गरिसकेका छन् ।
यिनै घटनाक्रमका आधारमा पार्टीभित्र देखिएको अनुशासनहीन गतिविधि, समानान्तर संरचना निर्माणको प्रयास तथा त्यसबाट उत्पन्न राजनीतिक असरका बारेमा बैठकमा विस्तृत छलफल हुने नेताहरुले बताएका छन् ।
























