
काठमाडौं । अदालतमा विचाराधीन मुद्दाका थुनुवाहरूलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई मण्डिखाटारस्थित हलेसी महादेव मार्गबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको आपराधिक क्रियाकलापमा संलग्न भएका आधारमा पक्राउ परी काठमाडौं कारागार कार्यालय (सुन्धारा) मा पुर्पक्षका लागि थुनामा रहेका ३ जना व्यक्तिहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । हरिबहादुरले आफूलाई सर्वोच्च अदालतका न्यायाधीशहरूसँग निकट सम्बन्ध रहेको र ‘सेटिङ’ मिलाएर धरौटीमा छुटाइदिने प्रलोभन देखाएका थिए ।
पीडितहरूलाई विश्वासमा पारी उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै कुल ९ लाख रुपैयाँ आफ्नी श्रीमती मिठु मगरको बैंक खातामा जम्मा गर्न लगाएका थिए । रकम लिएपछि पनि काम नभएको र ठगी भएको पुष्टि भएपछि प्रहरीले उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

























