
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको बैठकमा उनले औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
बैठकमा सुहाङले अहिलेको राजनीतिक परिस्थितिमा युवा नेतृत्वको आवश्यकता रहेको बताएका थिए । उनले पार्टीको विधि, पद्धति र वरिष्ठता क्रमलाई सम्मान गर्ने भन्दै प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनुपर्ने धारणा राखेका थिए ।
‘अहिलेको जनभावना र आवश्यकताअनुसार तथा लोकतान्त्रिक अभ्यासअनुसार म आफ्नो इच्छा व्यक्त गर्दछु,’ सुहाङको भनाइ उद्धृत गर्दै एक नेताले बताए । उनले सदन र सदन बाहिरको अवस्थालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने पनि उल्लेख गरेका थिए ।
सुहाङले आफू अग्रजको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा र नयाँ सोचलाई अघि बढाउनुपर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । यसअघि पनि उनले दलको नेता बन्न तयार रहेको संकेत दिएका थिए । ‘पार्टीले अगाडि बढ भने म पछि हट्दिनँ,’ उनले सञ्चारकर्मीहरूसँग बताएका थिए ।
























