कांग्रेसभित्रको विवाद मिलाउन देउवा र कोइराला समूहबीचको छलफल जारी

Share this
831shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १४:३१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षबीचको सहमतिका लागि भइरहेको संयुक्त बैठक बिहीबार पनि जारी छ। महाराजगञ्जस्थित स्मार्ट होटलमा हिजोदेखि सुरु भएको यो छलफल आज पनि निरन्तर चलिरहेको हो। हिजो स्थगित भएको बैठक आज पुन: सुरु भएको र छलफल सकारात्मक दिशामा अघि बढिरहेको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन्।

कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको इतर समूहले छुट्टै बैठक राखेपछि चर्किएको आन्तरिक विवाद समाधान गर्न यो पहल थालिएको हो। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको यो बैठकलाई नेताहरूले अनौपचारिक संवादको रूपमा लिएका छन्। बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन्, जो हिजोको छलफलमा अनुपस्थित थिए।

आजको बैठकमा नेताहरू सरिता प्रसाईं, गोविन्दबहादुर शाह र गोमा भट्टराईको पनि उपस्थिति रहेको छ। हिजो ८४ जना नेताहरू सहभागी भएकोमा आज यो संख्या बढेर ८८ पुगेको नेताहरूले बताएका छन्। बैठकका लागि कुल ११४ जना नेताहरूलाई खबर गरिएको थियो।

पार्टीभित्रको बढ्दो ध्रुवीकरण र कार्यसमिति चयनमा देखिएको असन्तुष्टि सम्बोधन गर्न दुवै पक्षका प्रभावशाली नेताहरू बीच घनीभूत छलफल भइरहेको छ। बैठकले पार्टीलाई एकढिक्का बनाउन ठोस खाका तयार पार्ने विश्वास लिइएको छ। सदनको आगामी अधिवेशन र पार्टीको आगामी रणनीतिका विषयमा पनि यस बैठकमा विमर्श भइरहेको बुझिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.