
काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको नेता चयनका लागि आकांक्षीहरूबीच सहमति नजुट्दा निर्वाचनको प्रक्रिया सुरु गरेको छ। बुधबार पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा सहमतिको प्रयास असफल भएपछि मतदानमार्फत नेतृत्व छान्ने निर्णय भएको हो।
एमाले सांसद ऐन महरका अनुसार संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र युवा नेता सुहाङ नेम्वाङले आ–आफ्नो दाबी नछोडेपछि चुनावी प्रक्रिया अपनाइएको हो। दुवै पक्षबीच सहमतिका लागि लामो समय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन।
बैठकले आजै सांसदहरूबीच मतदान गराएर दलको नेता चयन गर्ने तयारी गरेको छ। पार्टीका शीर्ष नेताहरू पराजित भएपछि रिक्त रहेको यो पदका लागि अनुभवी र युवा नेतृत्वबीचको प्रतिस्पर्धालाई अर्थपूर्ण रूपमा हेरिएको छ। निर्वाचनको परिणाम आएलगत्तै एमालेले संसद्को पहिलो बैठकमा आफ्नो दलको नेताका रूपमा निर्वाचित व्यक्तिको नाम औपचारिक रूपमा दर्ता गर्नेछ।
























