
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले खड्काले अनधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग गरी वक्तव्य जारी गरेको ठहर गर्दै यस्तो निर्णय गरेको हो।
समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा खड्काले आफूसँग नभएको जिम्मेवारी दाबी गर्दै नक्कली लेटरप्याड प्रयोग गरेर भ्रम फैलाएको उल्लेख छ। गत शनिबार नेता रमेश लेखकको पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति सार्वजनिक गरेका थिए। समितिले सो कार्यलाई विधान विपरीत र अनधिकृत भन्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।
बैठकले अब उप्रान्त पार्टीको विधान र प्रचलित कानुन बमोजिम अनुशासन उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ। खड्काले चैत १४ गते जारी गरेको वक्तव्यले पार्टीको आधिकारिक प्रणालीमा आँच पुर्याएको समितिको बुझाइ छ।
केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा रहेको अनुशासन समितिमा धना खतिवडा र सुवास पोखरेल सदस्य रहेका छन्। यो निर्णयसँगै कांग्रेसभित्रको आन्तरिक अनुशासन र कार्यवाहक जिम्मेवारीको विषयलाई लिएर नयाँ बहस सुरु भएको छ।
























