
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध अनुसन्धान र कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।
बस्नेतविरुद्ध बलात्कारसम्बन्धी आरोपमा अनुसन्धान गर्न परमादेश माग गर्दै शोभा पाठकले दायर गरेको रिट बुधबार न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले खारेज गरिएको हो । पाठकले पहिले पनि बस्नेतविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरीमा प्रमाण नपुगेपछि सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।
निर्णयविरुद्ध पनि उनले उच्च अदालतमा रिट दायर गरेकी थिइन् । तर, त्यो पनि खारेज भएको थियो । पछि उनले पूरक जाहेरी दिँदै थप आरोप लगाएकी थिइन् । त्यस जाहेरीमाथि अनुसन्धानपछि पनि सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध दायर अर्को रिट पनि अदालतले खारेज गरेको हो । अदालतले अनुसन्धान प्रक्रिया जारी रहेको देखिएकाले अलग्गै परमादेश आवश्यक नभएको भन्दै रिट खारेज गरिदिएको हो ।
























