
काठमाडौं । बाँकेको राप्तीसोनारीकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार घटना बाहिरिएको छ ।
गत माघ २१ गते भएको उक्त घटनाका आरोपी ४ जनालाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार पीडितको मानसिक अवस्था गम्भीर रूपमा प्रभावित भएका कारण उजुरी दिन ढिलाइ भएकाले घटना ढिलो सार्वजनिक भयो ।
प्रहरीका अनुसार माघ २१ गते किशोरी आफ्ना साथीहरूसँग एक विवाह समारोहमा जन्ती गएकी थिइन् । सोही क्रममा ती युवकहरूले उनलाई नशालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाएर बेहोस बनाएका थिए । किशोरी अचेत अवस्थामा पुगेपछि उनीमाथि सामूहिक बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना माघ २१ गते नै भएको भए पनि पीडित किशोरी गहिरो मानसिक आघातमा परेका कारण तत्काल उजुरी पर्न सकेको थिएन । घटनापछि किशोरी लामो समयसम्म डराउने, कसैसँग नबोल्ने र विक्षिप्त अवस्थामा पुगेकी थिइन् । किशोरीको स्वास्थ्यमा केही सुधार आएपछि र उनले परिवारलाई घटनाबारे बताएपछि मात्र प्रहरीमा उजुरी पुगेको हो ।
पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर नगरपालिका–५ रझेनाका २१ वर्षीय आशिष थारु, कोहलपुर–६ का २७ वर्षीय सन्दीप थारु, सोही ठाउँका २१ वर्षीय नीरज थारु र एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
पीडितको मानसिक अवस्था निकै कमजोर भएकाले उजुरी आउन ढिलाइ भयो, तर उजुरी प्राप्त हुनासाथ घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरेर घटनामा संलग्न भएका ४ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडित किशोरीलाई आवश्यक उपचार र मनोसामाजिक परामर्शको व्यवस्था मिलाइने पनि जनाएको छ । पक्राउ परेका ४ जनामाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























