
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र नेकपा (एमाले) दुवै दल गम्भीर आन्तरिक संकट र ‘विचित्रको विवाद’मा फसेको टिप्पणी गरेका छन् ।
बिहीबार कमल कोइरालाको स्मृतिग्रन्थ लोकार्पण समारोहमा बोल्दै उनले दुवै प्रमुख दलभित्र देखिएको समस्या सामान्य नभएको भन्दै गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताए । कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्न नसकिए राजनीतिक अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिए ।
‘हामी दुवै पार्टी बडो विचित्रको विवादमा परिराखेका छौं,’ उनले भने । उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नसके अवस्था झन् खराब हुने स्पष्ट पारे । उनले आफूले मध्यमार्गी धारणा राख्दा पनि पार्टीभित्र काम गर्न कठिनाइ भएको गुनासो गरे ।
कोइरालाका अनुसार वर्तमान राजनीतिक परिस्थिति कांग्रेस, एमाले, नेकपालगायत सबै पुराना दलका लागि प्रतिकूल बन्दै गएको छ । उनले दलहरूले समयमै सुधार र एकता नअपनाए दीर्घकालीन असर भोग्नुपर्ने बताएका छन् ।
























