एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार ०६:३७

काठमाडौं । नेकपा (एमाले)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रम र संसदमा देखिएको विवादलाई केन्द्रमा राख्दै पार्टीले आन्तरिक छलफलका लागि बोलाएको बैठक शुक्रबार दिउँसो बस्ने छ ।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दिउँसो १ बजे सचिवालय बैठक बस्ने बताएका छन् । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, विशेषगरी प्रतिनिधिसभामा भएको पछिल्लो घटनाक्रमबारे गम्भीर छलफल हुनेछ ।

Advertisement

बिहीबारको प्रतिनिधिसभा बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले गरेको सम्बोधनप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ । उक्त सम्बोधनलाई लिएर पार्टीभित्र विभिन्न धारणा सार्वजनिक हुन थालेपछि नेतृत्व तहमा समन्वय आवश्यक देखिएको स्रोत बताउँछ ।

एमाले नेताहरूका अनुसार संसदमा उठेका विषय, सरकारप्रतिको पार्टीको धारणा र आगामी रणनीतिका बारेमा स्पष्ट निर्णय लिन सचिवालय बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनहरूमा विकसित राजनीतिक परिस्थितिले पार्टीभित्र गम्भीर छलफलको आवश्यकता बढाएको नेताहरूको भनाइ छ ।

सचिवालय बैठकबाट पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने र संसद तथा बाहिरका गतिविधिमा एकरूपता ल्याउने प्रयास गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.