
धनकुटा । धनकुटामा प्रहरीले दुईवटा फरक मोटरसाइकलबाट गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ । अन्य दुई जना फरार रहेका छन् ।
धनकुटा नगरपालिका–९ अन्तर्गत त्रिवेणी–मुलघाटस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो प्रहरीले दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । त्रिवेणीबाट मुलघाटतर्फ आउँदै गरेका दुई मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्नेबित्तिकै दुवै मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रदेश १–०२–०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ ।
पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–७ का २२ वर्षीय शुसान भनिने सुदीप राई रहेका छन् । उनले चलाएको मोटरसाइकलमा बाँधिएको जेब्रा झोला चेकजाँच गर्दा १९ किलो ८५० गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अर्को को २१ प ९५६५ नम्बरको मोटरसाइकलमा बाँधिएको झोला चेकजाँच गर्दा थप २४ किलो १४० ग्राम गाँजा फेला परेको थियो । उक्त मोटरसाइकलका चालक र पछाडि सवार व्यक्ति भने प्रहरीलाई छल्दै फरार भएका छन् ।
दुवै मोटरसाइकलबाट ४३ किलो ९९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर फरार रहेकाको खोजी तीव्र पारिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सुदीप राईलाई भने लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत धनकुटाबाट बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार पछिल्लो समय धनकुटालगायत पूर्वी पहाडी जिल्लाबाट गाँजा ओसारपसार तीव्र बनेको छ ।
गाँजा नियन्त्रण गर्न सक्रियता बढाइएको धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताए । गाँजाको कारोबार एवं ओसारपसारमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने जानकारी उनले दिए ।

























