
काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वलाई आफ्ना कमजोरी र मति अनुकूल परिस्थितिलाई बुझ्ने मूर्खता नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा ‘नेकपा (एमाले) को रक्षाका लागि’ शीर्षकमा लेख्दै उनले विकसित घटनाक्रम अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
नेता पोखरेलले समयको गति अनुसार आफ्नो सोच बदल्न सुझाव दिँदै आफ्ना बिग्रिएका मति अनुसार परिस्थितिलाई व्याख्या नगर्न चेतावनी दिएका छन्। उनले सिंगो एमाले पंक्तिलाई समयको माग र गति अनुसार अघि बढ्न र आफ्ना कमजोरी सुधार्न आह्वान गरेका छन्।
सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद र आत्मकेन्द्रित अभिव्यक्तिले पार्टीलाई गम्भीर क्षति पुर्याउने पोखरेलको ठहर छ। विधि र पद्धतिविपरीतका गतिविधि पार्टीका लागि हानिकारक हुने भन्दै उनले यस्ता प्रवृत्तिबाट जोगिएर पार्टीलाई नयाँ ढंगले गतिशील बनाउन एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
एमाले स्थापनाकालदेखि नै व्यवस्थित विधि, सामूहिक नेतृत्व र आलोचनात्मक चेतले चलेको पार्टी भएको स्मरण गराउँदै उनले मंसिरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनका बहसहरूलाई पनि उल्लेख गरेका छन्। अहिले पार्टीमाथि चौतर्फी हमला भइरहेको दाबी गर्दै उनले ऐतिहासिक पृष्ठभूमि नबिर्सन र कमजोरीहरू सच्याउँदै अघि बढ्न सम्पूर्ण कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
























