
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया आज (शनिबार) देखि अगाडि बढाउँदैछ। गत चैत १०–११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ कार्यतालिका कार्यान्वयनमा ल्याइएको हो।
कार्यतालिकाअनुसार आज चैत २१ गतेदेखि मसान्तसम्म केन्द्रबाट वडा तहसम्म सदस्यता फारम पठाउने र १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने तयारी छ। यसै सिलसिलामा कांग्रेसले आज दिउँसो २ बजे सानेपामा निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि ‘आरेन्टेसन’ (अभिमूखीकरण) कार्यक्रम राखेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार अभिमूखीकरणपछि प्रतिनिधिहरूको नाम सार्वजनिक गरिनेछ, जसमा साना जिल्लामा एक र ठूला जिल्लामा दुई जना प्रतिनिधि परिचालन हुनेछन्।
महाधिवेशनको तयारीका लागि वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका वडाहरूमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने एक महिने अभियान सञ्चालन गरिनेछ। वडाहरूले अद्यावधिक गरिएको सदस्यता नामावली जेठ १५ गतेभित्र क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ। जिल्लाले ती नामावली ‘इन्ट्री’ गरेर जेठ २५ सम्म केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
सदस्यतामाथि आवश्यक छानबिन गरी असार १५ गतेसम्म अन्तिम टुङ्गो लगाइने र असार मसान्तभित्र अद्यावधिक क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कांग्रेसको कार्यतालिका रहेको छ।
























