कांग्रेसको १५औँ महाधिवेशन: ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको नामावली सार्वजनिक

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार २०:४३

काठमाडौं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको प्रक्रियालाई तीव्रता दिँदै ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ । वैशाख १ गतेदेखि सुरु हुने सदस्यता वितरण तथा नवीकरण अभियानलाई व्यवस्थित बनाउन कांग्रेसले यी प्रतिनिधिहरूलाई जिम्मेवारी सुम्पिएको हो ।

यसअघि शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित अन्तरसंवाद कार्यक्रममा जिल्ला खटिने प्रतिनिधिहरूलाई आवश्यक निर्देशन दिइएको थियो । महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिहरूले वैशाख महिनाभर सम्बन्धित जिल्लामा बसेर नयाँ सदस्यता वितरण र पुराना सदस्यहरूको अद्यावधिक कार्यलाई विधानसम्मत ढङ्गले अगाडि बढाउनेछन् । पार्टीले वैशाख १ देखि मसान्तसम्म देशभरका वडाहरूमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका यसअघि नै तय गरिसकेको छ ।

एक महिने विशेष अभियानपछि वडाहरूले जेठ १५ गतेभित्र क्रियाशील सदस्यताको विवरण प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । जिल्ला र क्षेत्रले ती विवरणहरूलाई प्रणालीमा प्रविष्ट (इन्ट्री) गरी जेठ २५ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी असार १५ गतेभित्र अन्तिम टुङ्गो लगाउने लक्ष्य राखेको छ । असार मसान्तसम्ममा अद्यावधिक क्रियाशील सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइने कांग्रेसको तयारी छ ।

प्रतिनिधिसभा निर्वाचनपछि गत चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो । सोही कार्यतालिका अनुसार चैत २१ गतेदेखि नै सदस्यता फारम वडा तहसम्म पठाउने र १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने काम भइरहेको छ । यस अभियानले पार्टीको सङ्गठनलाई तल्लो तहदेखि नै चलायमान बनाउने विश्वास कांग्रेसले लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.