
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा विपक्षीको तर्फबाट लिखित जवाफ सर्वोच्च अदालतमा पेस भएको छ ।
यसअघि अदालतले दुवै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सोही आदेशअनुसार सरकार पक्षले आफ्नो धारणासहितको लिखित जवाफ अदालतमा बुझाएको हो । अदालत स्रोतका अनुसार अब मुद्दासँग सम्बन्धित आवश्यक कागजात र प्रक्रिया पूरा भएकाले सुनुवाइको बाटो खुलेको छ ।
जेनजी आन्दोलनको घटनो जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट चैत १५ गते उनीहरूले आफ्नो पक्राउ गैरकानुनी र पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
चैत १६ गते सर्वोच्चको छुट्टाछुट्टै इजलासबाट प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग स्पष्टीकरण मागेको थियो । अहिले उक्त जवाफ प्राप्त भइसकेकाले अब अन्तिम सुनुवाइ हुने तयारी भएको छ । यस प्रकरणले राजनीतिक र कानुनी वृत्तमा निक्कै चासो बढाएको छ ।



















