
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेतचा रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज (आइतबार) सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ ।
उक्त रिटको सुनवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपछि विपक्षीले लिखित जवाफ पेस गरिसकेको छ ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो । सोही पक्राउविरुद्ध दुवै नेताको तर्फबाट चैत १५ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको हो ।
आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । अहिलेको सुनुवाइले उनीहरूको थुनाको वैधता र आगामी कानुनी प्रक्रियाबारे महत्वपूर्ण दिशा तय गर्ने अपेक्षा गरिएको छ ।



















