
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा ( एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार दुवै जनाविरुद्ध अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको हो । यसअघि चैत १४ गते भक्तपुरबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धान गरिरहेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा उनीहरूको भूमिकामाथि प्रश्न उठेपछि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको हो ।
ओली तत्कालीन प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका बेला आन्दोलन नियन्त्रणका क्रममा अपनाइएको सुरक्षा रणनीति र आदेशका बारेमा अनुसन्धान केन्द्रित रहेको जनाइएको छ । उनीहरुविरुद्ध यसअघि पनि म्याद थप गरिएको थियो । उक्त म्यादमा अनुसन्धान नसकिएपछि अर्कोपटक थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।



















