गृहमन्त्रीलाई हर्क साम्पाङको प्रश्नः जवाफ नदिएसम्म बधाई दिन्नँ 

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार ०९:३५

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको फेवाताल किनारमा रहेको विवादास्पद ‘२० रोपनी जग्गा’ प्रकरणबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिन चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत एक सन्देश लेख्दै साम्पाङले यो विषय व्यक्तिगत नभई नैतिकता र सार्वजनिक उत्तरदायित्वको सवाल भएको प्रस्ट पारेका हुन् ।

साम्पाङले गृहमन्त्री गुरुङसँगको व्यक्तिगत सम्बन्धलाई सम्मान गरे पनि पदीय जिम्मेवारीमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । तपाईं मलाई ‘हर्क दाइ’ भन्नुहुन्छ, त्यो नाताले तपाईं मेरो भाइ हुनुभयो। ‘हर्कजी’ भन्नुहुन्छ, त्यो अर्थमा साथी हुनुभयो । तर यो देशको विधि र संविधान मान्दा तपाईं माननीय गृहमन्त्री हुनुहुन्छ, साम्पाङले लेखेका छन् ।

उनले गृहमन्त्री नियुक्त भएकोमा अहिलेसम्म बधाई नदिएको उल्लेख गर्दै स्पष्ट पारेका छन्, ‘बधाई तब मात्र दिनेछ, जब यी गम्भीर प्रश्नको जवाफ आउने छ ।’

पछिल्लो समय सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङको नाममा पोखराको फेवाताल किनारमा २० रोपनी जग्गा रहेको भन्ने चर्चा चुलिएको छ । यसैलाई मुख्य एजेन्डा बनाउँदै साम्पाङले भनेका छन्, ‘तपाईंको नाममा पोखरामा २० रोपनी जग्गा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो, तत्काल पत्रकार सम्मेलन गरेर जवाफ दिनुस् ।’

साम्पाङले चेतावनी दिँदै अगाडि लेखेका छन्, ‘नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले पत्याउँदैनन् र प्रहरीले पनि टेर्न छाड्छन् ।’

सांसद साम्पाङले गृहमन्त्रीलाई २ वटा मुख्य ‘अग्निपरीक्षा’ पनि तोकिदिएका छन् । पहिलो सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिनुपर्ने र अर्को जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते भएको घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

गृहमन्त्रीले २३ गतेको घटनाका दोषीलाई समातेकोमा धन्यवाद दिँदै साम्पाङले बाँकी रहेका यी दुई कार्यभार नबिर्सन सचेत गराएका छन् । ‘काम गर्ने मान्छेको खुट्टा तानिन्छ, तर तपाईंमाथि लागेको आरोपको जवाफ आफैंले दिनुपर्छ,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.