
काठमाडौं । सरकारले भारतसहित विभिन्न ६ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक नियुक्तिका आधारमा विभिन्न देशमा पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै भारतका लागि नेपाली राजदूत डां शंकरप्रसाद शर्मा फिर्ता भएका छन् । यस्तै, दक्षिण कोरियाका लागि राजदूत डा. शिवमाया तुम्बाहाम्फे र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई पनि फिर्ता बोलाइएको छ । तुम्बाहाम्फे र यादव क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वसांसदसमेत हुन् ।
यसैगरी, श्रीलंकाका लागि राजदूत डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुमिना तुलाधर र दक्षिण अफ्रिकाका लागि राजदूत कपिल श्रेष्ठलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । उनीहरू सबै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको पालामा नियुक्त भएका थिए ।
पछिल्लो निर्णयसँगै अब विभिन्न १७ देशका नेपाली दूतावासहरू राजदूतविहीन बन्न पुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका यी पदहरूमा चाँडै नयाँ नियुक्ति गर्ने तयारी भइरहेको छ । फिर्ता बोलाइएका राजदूतहरूलाई आफ्नो कार्यकाल व्यवस्थापन गरी स्वदेश फर्कन एक महिनाको समय दिइएको छ ।
वर्तमान सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई ‘मार्ग प्रशस्त’ (राजीनामा) गर्न आग्रह गरेको थियो । तर, सरकारको आग्रहका बाबजुद राजदूतहरूले राजीनामा नदिएपछि मन्त्रिपरिषद्ले उनीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो ।
























