कांग्रेस संसदीय दलको नेताका लागि केसी र आङ्देम्बेको चर्चा

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १३:१०

काठमाडौं । नेपाली कांग्रेसभित्र सहमतिमा संसदीय दलको नेता चयन गर्ने प्रयास सुरु भएको छ। विशेषगरी समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउने विषयमा शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ।

पार्टीका एक सहमहामन्त्रीका अनुसार सभापति, उपसभापति र महामन्त्रीहरूबीच सोमबार यसबारे प्रारम्भिक कुराकानी भएको थियो। दलको नेता चयन प्रक्रियाका लागि सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ को संयोजकत्वमा निर्वाचन समिति गठन भएको चर्चा चले पनि पार्टीले यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

कांग्रेसको संसदीय इतिहासमा २०६४ पछि दलको नेता सर्वसम्मत चयन हुन सकेको छैन। यसपटक पनि आन्तरिक गुटबन्दीका कारण मतदानकै सम्भावना बढी देखिएको छ। २१ फागुनमा सम्पन्न निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण गर्दा सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवा दुवैको हस्ताक्षर प्रयोग भएकाले सांसदहरू दुई धारमा बाँडिएका छन्।

दलको नेताका लागि दाबेदारी प्रस्तुत गरिरहेका केसी संस्थापन पक्ष र आङ्देम्बे संस्थापनइतर समूहका मानिन्छन्। दुवै पूर्वसहमहामन्त्री हुन्। केसी सबैभन्दा अनुभवी सांसद हुन् भने आङ्देम्बे दोस्रो संविधानसभामा सभासद् थिए। यी दुईबाहेक प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र नरेन्द्र केरुङलाई पनि आकांक्षीका रूपमा हेरिएको छ। त्यस्तै, इलाम-१ बाट विजयी निश्कल राईको नाममा पनि चर्चा सुरु भएको छ।

पार्टीको समीकरण हेर्दा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद छन्। जसमा प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चस्व छ भने समानुपातिकमा इतर समूहका सांसद बढी छन्। तथ्याङ्क अनुसार संस्थापन पक्षीय १६ र इतर पक्षीय २२ सांसदहरू छन्।

इतर समूहका २२ मध्ये देउवानिकट १५ र कोइरालानिकट ७ जना मानिए पनि पछिल्लो समय सांसदहरूको कित्ताकाट प्रस्ट भइसकेको छैन। १७ चैतको एक कार्यक्रममा इतर पक्षका २२ मध्ये ११ जना मात्र उपस्थित हुनुले पनि आन्तरिक समीकरण तरल रहेको देखाउँछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.