
काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन्। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनीहरूले सरकारले सुरुवाती चरणदेखि नै संविधान र विधिको शासन उल्लंघन गरेको आरोप लगाए।
बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नागरिकका मौलिक अधिकारहरूको हनन गरिरहेको भन्दै संविधान प्रदत्त अधिकार स्थापित गर्न निर्देशन दिन माग गरे। गत भदौ २३ र २४ गतेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने उनको तर्क थियो।
त्यस्तै अर्का सांसद यशोदाकुमारी बरालले २००७ सालदेखि ‘जेनजी’ आन्दोलनसम्मका सबै घटनाक्रमका फाइल खोल्न सरकारलाई चुनौती दिइन्। ओली र लेखकमाथि राजनीतिक प्रतिशोध राख्ने काम नगर्न चेतावनी दिँदै उनले वर्तमान सरकारले विधिको शासन उल्लंघन गरेमा मुलुकले ठुलो क्षति व्यहोर्नुपर्ने उल्लेख गरिन्।
एमाले सांसदहरूले सरकारका पछिल्ला कदमहरू लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै संसद्मा कडा आपत्ति जनाएका छन्।
























