
काठमाडौं । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को पछिल्लो अभिव्यक्तिप्रति पार्टीका केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि जनाउँदै विरोध गरेका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत बादलले प्रयोग गरेको भाषा र शैली एमालेको नीति एवं परम्पराविपरीत रहेको बताएका हुन्।
चैत २५ गते पोखरामा आयोजित जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्ने क्रममा बादलले ‘कब्जा, आक्रमण र दुश्मन’ जस्ता शब्दावली प्रयोग गरेका थिए। ती शब्दहरू एमालेको विचार र अभ्याससँग मेल नखाने भट्टराईको तर्क छ। बादलले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गर्दै एमाले सिध्याउन पार्टीभित्रैबाट अभ्यास भइरहेको गम्भीर आरोप समेत लगाएका थिए।
भट्टराईले एमाले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा चल्ने पार्टी भएको स्मरण गराउँदै कब्जा र आक्रमणको भाषा पार्टीको नीति हुन नसक्ने स्पष्ट पारेका छन्। ‘हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौँ। आक्रमण होइन, शान्तिपूर्ण सङ्घर्षबाट विजय सुनिश्चित गर्छौँ,’ उनले उल्लेख गरेका छन्।
बादलको अभिव्यक्तिमा युद्धकालीन चिन्तन देखिएको टिप्पणी गर्दै भट्टराईले कार्यवाहक अध्यक्षमा पुरानो ‘धङधङी’ बाँकी रहेको बताएका छन्। उनले बादललाई सैद्धान्तिक चेत भएको र भद्र नेताका रूपमा बुझ्दै आए पनि पछिल्लो अभिव्यक्तिले दुखी तुल्याएको उल्लेख गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने भट्टराईको यो सार्वजनिक विरोधले पार्टीभित्र नेतृत्वको कार्यशैली र भावी दिशाका विषयमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ। उनले पार्टीको जटिल अवस्थामा शीर्ष नेतृत्वको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत जोड दिएका छन्।



















