
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख पदका लागि निर्वाचन हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत राजनीतिक दलहरूलाई पदका लागि ‘बार्गेनिङ’ गर्नुको सट्टा अर्थपूर्ण छलफल गर्न सुझाव दिएका हुन्।
‘उपसभामुखको चुनाव हुनेछ। छलफल गर्नुस्, बार्गेनिङ होइन,’ अध्यक्ष साम्पाङले लेखेका छन्। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। उम्मेदवारको नामावली आजै दिउँसो साढे २ बजे प्रकाशन गरिनेछ भने भोलि शुक्रबार निर्वाचन हुनेछ।
यसअघि सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने भएकाले अब उपसभामुखमा महिला सांसदले मात्र उम्मेदवारी दिन पाउनेछन्।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सात जना सांसद छन्। जसमा अम्बिका देवी सङ्ग्रौला, राधिका रम्तेल र रुबी कुमारी गरी तीन जना महिला सांसद रहेका छन्। उपसभामुखमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी रहने वा अन्य दलसँग सहकार्य हुने भन्नेबारे भने साम्पाङले स्पष्ट खुलाएका छैनन्।



















