
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक १३ दिनपछि अन्ततः रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि अनुसन्धानको अवस्थालाई आधार मानेर प्रहरीले दुवै नेताहरूलाई परिवारको जिम्मा लगाउँदै हिरासतबाट मुक्त गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ भने लेखकलाई नम्बर–२ सशस्त्र प्रहरी गणबाट उनकी पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको हो ।
दुवै जनालाई आवश्यक पर्दा अनुसन्धानका क्रममा उपस्थित हुने सर्तमा रिहा गरिएको एसपी भट्टराईले बताए । ओलीलाई चैत १४ गते उनको निवास गुण्डुबाट पक्राउ गरिएको थियो । उनीमाथि जेनजी आन्दोलनमा दमन गरेको आरोप लगाइएको थियो ।
पक्राउपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै राखेर अनुसन्धान अगाडि बढाइएको थियो । उनकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।
सो निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते बेलुका महत्वपूर्ण आदेश जारी गरेको थियो । अदालतले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन निर्देशन दिएको थियो । साथै, तोकिएको समयभित्र अनुसन्धान नसकिएमा सर्तसहित रिहा गर्न पनि आदेश दिएको थियो ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान निर्धारित समयसीमाभित्र पूर्ण रूपमा निष्कर्षमा पुग्न नसके पनि अदालतको आदेशअनुसार दुवैलाई रिहा गर्ने निर्णय गरिएको हो । ओलीको हकमा स्वास्थ्य अवस्था पनि प्रमुख कारण बनेको बताइएको छ । चिकित्सकहरूको सुझावअनुसार उनको उपचार निरन्तर जारी रहनेछ ।
त्यसैगरी, पूर्वगृहमन्त्री लेखकलाई पनि चैत १४ गते पक्राउ गरिएको थियो । उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएर नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएको थियो । बालेन नेतृत्वको मन्त्रिपरिषद्ले भदौ २३ र २४ मा भएका घटनाको बारेमा छानबिन गर्न गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली र लेखक पक्राउ परेका थिए ।
प्रहरीका अनुसार लेखकलाई अनुसन्धानका क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो । हिरासतबाट मुक्त भएपछि उनी सिधै परिवारसँग घर फर्किएका छन् । दुवै नेताहरूलाई ‘हाजिर जमानी’मा रिहा गरिएको हो ।
राजनीतिक रूपमा संवेदनशील मानिएको यस घटनाले देशभर चर्चा पाएको थियो । दुवै नेताको गिरफ्तारीले राजनीतिक तरंग पैदा गरेको थियो भने मानवअधिकार र कानुनी प्रक्रियाबारे पनि बहस चर्किएको थियो ।
यसबीच, सर्वोच्च अदालतको आदेशले अनुसन्धान निकायमाथि दबाब सिर्जना गरेको देखिन्छ । अदालतले स्पष्ट समयसीमा तोकेर अनुसन्धान सम्पन्न गर्न निर्देशन दिनु र त्यसअनुसार रिहा गर्ने व्यवस्था गर्नुले न्यायिक हस्तक्षेपको महत्त्व पनि देखाएको छ ।
ओली र लेखक रिहा भए पनि उनीहरूमाथिको अनुसन्धान पूर्ण रूपमा टुंगिएको छैन । प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया जारी रहनेछ ।



















