
काठमाडौं। हिरासतबाट मुक्त भएपछि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको अभियोग पुष्टि गर्न आवश्यक आधार र प्रमाण नपुगेकाले रिहा भएको बताएका छन्।
ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाउँदै आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। उनले प्रमाण अभावकै कारण अन्ततः रिहा हुनुपरेको उल्लेख गर्दै आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरेको भन्दै उनले प्रहरी प्रशासनप्रति धन्यवाद ज्ञापन गरेका छन्। साथै, उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।
ओलीले आफ्नो रिहाइको माग गर्दै गरिएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन्। राज्य यसप्रति उदासीन भएमा आफ्नो पार्टीले नै उपचार खर्च व्यहोर्ने जानकारी दिएका छन्।
उनले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गराउने पनि बताएका छन्।



















