
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई संसदीय दलको नेताको आकाङ्क्षा त्यागेर ‘राजनेता’ बन्न सुझाव दिएका छन्। पोखरामा शुक्रबार आयोजित गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीलाई दलको घेराभन्दा माथि उठेर साझा अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
नेता केसीले संसदीय दलको नेता बन्ने इच्छा व्यक्त गरिरहेका बेला शर्माले यस्तो टिप्पणी गरेका हुन्। उनले २०४८ सालदेखिकै अनुभवी र ज्येष्ठ व्यक्तित्व भएकाले केसीलाई केवल कांग्रेसको मात्र नभई सबै दलको साझा अभिभावकका रूपमा हेर्न चाहेको बताए। शर्माले भने, ‘उहाँले संसदीय दलको नेता बन्न चाहँदा हामीलाई हुन्न भन्न अप्ठ्यारो हुन्छ। तर, हाम्रो अपेक्षा उहाँ नेताबाट राजनेता बन्ने मार्गमा लाग्नुहोस् भन्ने हो।’
उपसभापति शर्माले सांसदहरूबीच संसदीय दलको नेता सर्वसम्मत चयन गर्न केसीले सहजीकरण गर्ने विश्वास व्यक्त गरे। यदि सर्वसम्मति नभए नयाँ वर्षमा निर्वाचनमार्फत संसदीय दलको नेतृत्व चयन हुने उनले जानकारी दिए। केसीको ऊर्जा र अनुभवलाई पार्टीको आन्तरिक पदभन्दा माथिल्लो स्तरमा उपयोग गर्नुपर्नेमा शर्माले जोड दिएका छन्।
























