
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र छानबिनका बारेमा दोहोरो सन्देश दिएका छन् । संविधानमाथि कुनै प्रकारको हस्तक्षेप भए सडक र सदन दुवैबाट कडा प्रतिवाद गर्ने चेतावनी उनले दिए ।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई रचनात्मक सहयोग गर्ने धारणा राख्दै जनताले लामो संघर्षबाट प्राप्त गरेका हक अधिकारमा कटौती गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे । उनले विशेषगरी विद्यार्थी अधिकार र कर्मचारी ट्रेड युनियनमाथि प्रश्न उठाउने प्रयासप्रति असन्तुष्टि जनाउँदै यस्ता विषयमा सरकार सचेत हुनुपर्ने बताए ।
संविधान संशोधनप्रति आफूहरूको सिद्धान्ततः विरोध नभएको उल्लेख गर्दै उनले जनअधिकार विस्तार र संघीयता सुदृढीकरण हुने गरी गरिने संशोधनमा भने सहयोग रहने धारणा व्यक्त गरे । सञ्चारकर्मीसँगको अर्को प्रतिक्रियामा प्रचण्डले आफू जुनसुकै छानबिनका लागि तयार रहेको बताए ।
आफ्नो कार्यकालमा नै शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरिएको दाबी गर्दै उनले आफ्ना निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न कुनै डर नभएको जिकिर गरे । हाल सरकारद्वारा शीर्ष नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइरहेका सन्दर्भमा उनले तत्कालै सरकारको मूल्यांकन गर्ने समय नभएको उल्लेख गर्दै ‘हेर्दै जाने’ नीति लिएको बताए ।
साथै, पछिल्लो निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै प्रचण्डले पार्टीभित्र समीक्षा चलिरहेको र संगठन सुदृढीकरणमार्फत आगामी निर्वाचनमा सुधार ल्याउने विश्वास पनि व्यक्त गरे ।



















